काठमाडौँ, आइतबार, २५ असोज २०८३ । बुढीगण्डकी नदीमा आएको बाढीले जोखिम बढाएपछि नदी किनारमा रहेको आरुघाट बजार खाली गराउन थालिएको छ ।
गोरखा र धादिङ जिल्लाको भूभागमा फैलिएको आरुघाट बजार बुढीगण्डकी नदीको किनारमा अवस्थित छ । यो बजार १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रसमेत हो ।
बाढीको जोखिम बढेपछि प्रशासनले सतर्क गराएको र स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेको स्थानीय व्यवसायी धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले स्थानीवासी उच्च स्थानतर्फ सर्न थालेका छन् भने आरुघाट बजार खाली गरिँदैछ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बुढीगण्डकी नदीको जलसतहले खतरा तह पार गरेको छ ।
जलसतह अझै बढ्दो क्रममा रहेकाले बाढीको बहाव नघटेसम्म त्रिशूली दोभानसम्म र नदी किनारका क्षेत्रमा नजान साथै सुरक्षित उच्च स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ ।









