गोरखा, शनिबार, ३१ असोज २०८३ । बूढीगण्डकीमा आएको भीषण बाढीका कारण धार्चे गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक तथा पुलहरूमा ठूलो क्षति पुगेपछि यातायात आवागमन प्रभावित बनेको छ ।
धार्चे गाउॅंपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको अनुरोधलाई स्वीकार गर्दै गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) सहितको टोलीले धार्चे गाउँपालिकाको खोर्ला बेँसी क्षेत्रमा पुगेर सडकको अवस्थाबारे अनुगमन गरेको छ । बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको अनुगमन जिल्ला प्रशासनको टोलीले खोरला बेँसी क्षेत्रको सडक अवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेको हो ।
बाढीपछिको कठिन परिस्थितिमा सडक सञ्चालन, आवागमनमा देखिएका समस्या तथा आवश्यक सुधारका विषयमा स्थलगत जानकारी लिन गरिएको यस अनुगमनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
धार्चे क्षेत्रको यातायात सहज बनाउन सम्बन्धित निकायबीच समन्वय र आवश्यक पहलको अपेक्षा गरिएको छ । बाढीले क्षतिग्रस्त सडक तथा पुलहरूको अवस्था सुधार गरी स्थानीय बासिन्दा र यात्रुहरूको आवागमन सहज बनाउनु अहिलेको प्रमुख आवश्यकता बनेको छ ।
विपद पछिको कठिन परिस्थितिमा पीडितका समस्या सुन्दै समाधानका उपाय खोज्ने उद्देश्यले गरिएको यो छलफलले स्थानीयवासीमा आशा जगाएको छ ।
स्थानीय नेतृत्वले बाढीपीडितका माग र सुझावलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइने प्रतिवद्धता व्यक्त गरेको छ। यसले विपदपछि पुनर्स्थापनाको प्रयासमा समुदायको मनोबल बढाएको देखिन्छ ।









