काठमाडौँ, सोमबार, २ कात्तिक २०८३ । बडा दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने पहिलो चरणको कार्यक्रम सरेको छ । स्वास्थ्य सेवा विभागकाअनुसार अब उक्त कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गरिने भएको छ ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । तर, यस वर्ष कात्तिक २ र ३ गते दसैँको सार्वजनिक बिदा परेकाले कार्यक्रमको मिति परिवर्तन गरिएको विभागले जनाएको छ ।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । त्यस्तै, १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि दिइनेछ ।
विभागले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने केन्द्रमा पुर्याउन अभिभावकलाई आग्रह गरेको छ । निर्धारित समयमा औषधि खुवाएर बालबालिकाको स्वास्थ्य सुरक्षामा ध्यान दिन विभागले अनुरोध गरेको हो ।
बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन तथा जुकाको संक्रमणबाट हुन सक्ने स्वास्थ्य समस्याको जोखिम घटाउन सरकारले वर्षमा दुई पटक यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।









