गोरखा, आइतबार, २७ पौष २०८२ । गोरखाको धार्चे गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न भएको छ । पालिकाको आर्थिक वर्ष २०८२/०८३ को हिउँदे गाउँसभा गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो ।
धार्चे गाउँपालिका–५ स्थित माछिखोला कभर्ड हलमा सम्पन्न गाउँसभामा गाउँपालिकाले हालसम्म सञ्चालन गरेका विकास निर्माण, सेवा प्रवाह, सामाजिक तथा आर्थिक क्षेत्रका कार्यक्रमहरूको समीक्षा गरिएको थियो । साथै, आगामी दिनमा जनताको आवश्यकता र प्राथमिकताका आधारमा योजना तर्जुमा तथा कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको अध्यक्ष लक्ष्मण गुरुङले बताउनु भयो ।
गाउँसभामा अध्यक्ष लक्ष्मण गुरुङले स्थानीय सरकारको कामकारबाहीलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सहकार्यलाई ससक्त रुपमा अगाडी बढाइने बताउनुभयो ।
सो कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरू, कर्मचारी तथा स्थानीय सरोकारवाला लगायतस्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।









